संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो होइन : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरू बाट भएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
प्रमुख सचेतक बर्तौलाले संसदमा वा संसदीय समितिमा सांसदहरूले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठूलो ट्रेड युनियनको रूपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रूपमा विज्ञप्ति निकाल्नु गलत भएको समेत उल्लेख गरे ।
प्रमुख सचेतक बर्तौलाले सञ्चार माध्यममा आएको हेडलाइनलाई आधार बनाएर नेपालको सबै भन्दा ठूलो ट्रेड युनियनको रूपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर धम्कीपूर्ण विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाएका हुन । सरकारले महत्व दिएर अगाडि बढाएको विधेयक माथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाइ छ ।
सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित दल सम्बद्ध कर्मचारी ट्रेड युनियनले शुक्रबार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए ।
प्रतिक्रिया