नतिजा राकिँदा विद्यार्थी समस्यामा
नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको सिद्धान्त कलेजका विद्यार्थीको नतिजा कलेजकै कारण रोकिएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर बाट सम्बन्धन लिएर सञ्चालनमा आएको कलेजको वन विज्ञान सङ्कायमा अध्ययनरत स्नातक आठौँ सत्रका ४९ जना विद्यार्थीको नतिजा रोकिएको हो ।
शैक्षिक सत्र २०७६–२०८० समूहमा भर्ना भएका वन विज्ञान तर्फका हेटौँडा र कटारीका विद्यार्थीहरुको नतिजा पुस १६ गते आउँदा गैँडाकोटका विद्यार्थीहरुको भने रोकिएको छ । विद्यार्थीहरु कलेजका कारण नतिजा रोकिँदा लोकसेवा लड्न तथा वैदेशिक अध्ययनमा जान समेत असर पर्ने भन्दै चिन्तित बनेका छन् ।
विद्यार्थीहरुले नतिजा रोकिएको विषयमा क्याम्पस प्रमुख सँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुख सम्पर्कमै नआएको गुनासो गरेका छन् । विद्यार्थीको नतिजा प्रकाशन रोकिएको विषयमा कुरा गर्दा क्याम्पस प्रमुख एवम् प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताए ।
आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरुको नम्बर इमेल गरेर विश्वविद्यालयमा पठाएको भन्दै कँडेलले विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा सिद्धान्त कलेजको रोकिएको दाबी गरे । उनले चाँडै नै विद्यार्थीहरुको नतिजा प्रकाशन हुने पनि बताए ।
प्रतिक्रिया