सूर्यदर्शन सहकारी ठगी : प्रतिवादी तर्फका कानून व्यवसायीको बहस जारी
गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछाने सहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
शुक्रबार देखि शुरु भएको प्रतिवादी तर्फका कानून व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानून व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।
यसअघि सरकारी वकिल र जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिए लगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबार देखि थुनछेक बहस शुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिए पछि प्रतिवादी पक्षका कानून व्यवसायीको बहस शुरु भएको बताए ।
“प्रतिवादी तर्फका कानून व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रो तर्फ बाट जवाफी बहस शुरु हुन्छ”, उनले भने। थुनचेक बहस पछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
सभापति लामिछाने सहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्व डि.आइ.जी. छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत माथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रा.स्व.पा. सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछाने माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछाने सहित १९ जना विरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै, लामिछाने सँगै खनाल, जोशी र पछाईँ विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रा.स्व.पा. सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुर अनुसारको बिगो र सजायको माग सहित मुद्दा दर्ता गरिएको छ ।
रासस
प्रतिक्रिया