स्युचाटार क्रिकेट लिगको उपाधि किंग्स क्रिकेट एकेडेमीलाई
काठमाडौ। स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। काठमाण्डौको स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए। यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए।
उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ प्राप्त गरे। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ प्राप्त गरे। प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट बलर पनि निरजनै घोषित भए भने उत्कृस्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ प्राप्त गरे।
उपाधि विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो ।
तारकेश्वर युथ क्लबको आयोजनामा आठ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया