आन्दोलित शिक्षकको  सरकारसँगको पहिलो चरणको वार्ता निस्कर्षबिहीन

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन । नेपाल शिक्षक महासंघकाले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने जनाएको छ । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको शिक्षकहरुको दाबी छ । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु काठमाडौंको प्रदर्शनमा सहभागी भएका थिए । 

सरकार शिक्षक वार्ता 

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता शुरु गरेको छ । आज बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल शुरु गरेका हुन् । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष बिहीन भएको छ । 
वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा मात्रै भएको बताइएको छ । छलफलमा गृहमन्त्री श्रेष्ठले विद्यालय सञ्चालन गरेर वार्तामार्फत निकास खोज्न आग्रह गरेका छन । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । 

प्रतिक्रिया