माझी बस्तीका अभिभावकको समस्याबारे मुख्यमन्त्री सिंहको चासो

जनकपुर ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मिथिला नगरपालिका–१० लालगढस्थित माझी बस्तीका अभिभावकले सन्तान गुमाएर भोग्नुपर्ने समस्या समाधानमा चासो देखाएका छन् । यहाँ रहेका माझी समुदायका कतिपय अभिभावकले बच्चा जन्माए पनि केही समयमै अकालमै ज्यान गुमाउनु परिरहेको भनेर सार्वजनिक भएपछि उनले स्थानीय कृष्णबहादुर माझीसँग टेलिफोन संवाद गरी चासो लिएका छन् । मुख्यमन्त्री सिंहले समस्या पहिचान र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 मुख्यमन्त्री सिँहले सो टोलमा जन्मिएका कतिपय बच्चाको दुईचार महिनामै अकाल मृत्यु हुने गरेको घटनाको कारण पहिचान तथा समाधानका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली माझी टोलमा पठाउने प्रतिबद्धता व्यक्त गरेको उनका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिए । माझी टोलमा एउटै परिवारमा १५ सन्तानमध्ये १० जनासम्मको ज्यान गएको घटना सार्वजनिक भएको थियो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले वंशानुगत, रहनसहन, उपचार अभाव आदिमध्ये कुन कारणले नवजात शिशुको मृत्यु भएको भन्ने विषयमा प्रदेश सरकारको स्वास्थ्य टोलीले यकिन गरेपछि माझी टोलमा प्रवद्र्धनात्मक, नियन्त्रणात्मक तथा उपचारात्मक कार्य सरकारले अघि बढाउनेबारे जानकारी गराइएको बताए ।भोलि नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रुबी सिँहलगायतको टोली माझी बस्तीमा जाने प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साहले जानकारी दिए ।
 

प्रतिक्रिया