गाजामा इजरायली आक्रमणमा १९ जनाको मृत्यु
एजेन्सी । गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् ।
नागरिक सुरक्षा निकायका अनुसार गाजा शहरमा अल–घोल परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको थियो ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले भने, “विस्थापित बस्दै आएको घरमा भएको आक्रमणबाट घर पूर्णरूपमा ध्वस्त भएको छ भने ११ जनाको मृत्यु भएको छ ।” “आक्रमणमा दुई तले भवनमा क्षति पुगेको र अझै पनि धेरै मानिस भग्नावशेषमुनि रहेका छन्,” उनले भने ।
इजरायली ड्रोनले एम्बुलेन्सका कर्मचारीमाथि पनि गोली चलाएको प्यालेष्टिनी प्रशासनले जनाएको छ । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।
गाजा शहरको पूर्वमा रहेको शुजैयाको आसपासबाट एएफपीले खिचेको तस्बिरमा त्यहाँका बासिन्दाहरु आक्रमणपछि आगलागी भएको घरको भग्नावशेषबाट बाहिर निस्किरहेको र भुईंमा सेतो पाताले ढाकिएका मृत शरीरहरू देखिएको छ ।
“ठूलो विस्फोटले हामीलाई ब्यूँझायो। सबै कुरा हल्लिएको थियो,” घटनाका प्रत्यक्षदर्शी अहमद मुसाले भने । उनले भने, “हामीले उठेर सबैले हेर्यौँ, आक्रमण मेरै छिमेकी अल–घोलस्थित एक घरमा भएको थियो । त्यहाँ केही विस्थापित केटाकेटी र महिलाहरूलाई राखिएको थियो ।”
नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परी पाँच जना सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
बासलले इजरायलले मानवीय आपूर्ति शृङ्खलालाई प्रभावित गर्न र मानिसहरूलाई आतङ्कत पार्न ‘जानाजानी’ उनीहरूलाई लक्षित गरेको आरोप लगाउनुभयो । सेनाले अहिलेसम्म उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
स्थानीय उद्धारकर्ताका अनुसार खान युनिसमा एक घरमा बम विष्फोट हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरु गरेको थियो । इजरायलमा भएको हमासको उक्त आक्रमणमा एक हजार २०८ जनाको मृत्यु भएको थियो ।
इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४५ हजार ७१७ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया