हाम्रो एकता कुनै दरबार र टि–स्टेट खानको लागि होइन्, देशको नेतृत्व गर्न चाहन्छौं : विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘हामी नेकपाले पनि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ ।’
कांग्रेस, एमाले र माओवादी केन्द्रले पटकपटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेकोले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको उनले बताए ।
कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको शुरुवातको संज्ञा दिए ।
माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको बताउँदै उनले भने, ‘तीनपटक सरकारको नेतृत्व र पटक–पटक सत्तामा पुगेको माओवादी केन्द्रले अब जनतालाई के दिनसक्छ भन्ने जिज्ञासा छ ।’
अहिले आफूहरुले शुरु गरेको ध्रुवीकरण भ्रष्टाचारका लागि नभएको उनी बताउँछन् । भन्छन्, ‘यो एकता कुनै दरबार खानको लागि होइन, कुनै टि–स्टेट खानको लागि पनि होइन, सरकारको जग्गा हिनामिना गर्न पनि होइन । कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा लुकाउन होइन ।’
प्रतिक्रिया