एउटै पार्टीले ५ वर्षसम्म सरकार चलाउने गरी संविधान संशोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले निर्वाचनमा सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

स्थिर सरकार चलाउन निर्वाचन प्रणाली बाधक भएको बताउँदै उनले भने, ‘निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ ।’ 

गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै थापाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन । जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

उनले अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया