सेफ्टिी ट्याङ्कीमा भेटियो पत्रकारको शव, हत्याको आशंका

एजेन्सी । भारतको माओवादी प्रभावित छत्तीसगढको बिजापुरमा एकजना पत्रकारको शव सेफ्टी ट्याङ्कीमा भेटिएको छ ।  

 टिभी पत्रकार मुकेश चन्द्राकारको शव सेफ्टिी  ट्याङ्कीमा भेटिएको हो । ३३ वर्षीय मुकेश  २०२५ जनवरी १ तारिक रातिदेखि घरबाट बेपत्ता थिए ।

मुकेश ‘एनडीटीभी’ मा स्वतन्त्र पत्रकारको रुपमा काम गर्थे । यस बाहेक उनले युट्युबमा लोकप्रिय च्यानल ‘बस्तर जंक्शन’ पनि सञ्चालन गरेका थिए, जसमा उनले बस्तरको आन्तरिक समाचार प्रसारण गर्थे ।
मुकेशले बस्तरमा माओवादीद्वारा अपहरण गरिएका प्रहरी वा गाउँलेहरूको रिहाइमा धेरै पटक महत्वपूर्ण भूमिका खेलेका थिए। बिजापुर प्रहरीले जारी गरेको विज्ञप्तिमा उनको हत्याको आशंकामा तीन जनालाई पक्राउ गरिएको तर उनीहरुको नाम भने सार्वजनिक नगरिएका जनाएको छ ।  

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले भने,मुकेश चन्द्राकारका भाइको उजुरीपछि प्रहरीको विशेष टोली गठन गरी अनुसन्धान भइरहेको थियो। शुक्रबार साँझ भारतीय प्रहरीले  चट्टान पारा बस्तीमा ठेकेदार सुरेश चन्द्रकारको घरको परिसरमा  सेफ्टी ट्याङ्कीमा मुकेशमो शव फेला पारेको हो । पत्रकार मुकेशको  मोबाइल र फोन कलको अन्तिम लोकेशनका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसैबीच प्रहरीले ठेकेदार सुरेश चन्द्रकारले आफ्ना कामदारका लागि बनाएको आवासीय घरमा खोजी गर्न थालेपछि सेफ्टी ट्याङ्कीमा नयाँ प्लास्टर गरेको देखेपछि शंका लागेर हेर्दा मुकेशको शव भेटिएको हो । 

मुकेशको शरीरमा धेरै गहिरो चोटको निशान देखिएको पनि भारतीय प्रहरीले जनाएको छ । यो घटनापछि कांग्रेस र भाजपा(भारतीय जनता पार्टी)ले एक अर्कालाई निशाना बनाएका छन् । ठेकेदार सुरेश चन्द्रकारको  कांग्रेस सँगको सम्बन्धलाई लिएर भाजपाले पार्टीलाई निशाना बनाएको छ।

उता कांग्रेसले भाजपाको सरकारले देशमा कानुनी राजको  व्यवस्था गर्न नसकेको भन्दै  भाजपाको आलोचना गरिरहेको छ। पत्रकार मुकेशको शरीरमा गहिरो चोट देखिएका कारण उनको हत्याको आशंका गरिएको छ । 
 

प्रतिक्रिया