चीनको मेगा तिब्बत बाँध परियोजना बारे भारतको चासो र चिन्ता

एजेन्सी । चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजना बारे भारतले चासो र चिन्ता व्यक्त गरेको छ । 

तिब्बतको माथिल्लो भागमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् बाँध परियोजनालाई लिएर भारतले चीन सँग चिन्ता सहित आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने जनाएको हो । 

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितलाई माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिले हानी नपुर्‍याउने विषयको सुनिश्चित गर्न चीन सँग आग्रह गरिएको बताएका छन् । 

आफ्नो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू निरन्तर जारी राख्ने भन्दै उनले तल्लो तटीय देशहरू सँग परामर्शको आवश्यकता रहेको प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, चीनले यस अघि नै आफ्नो मेगा परियोजनाले तल्लो तटीय क्षेत्रमा नकारात्मक प्रभाव नपार्ने साथै तटीय देशहरू सँग आवश्यक सहकार्यलाई कायम राख्ने जनाएको थियो । 

चीनले हालै तिब्बतमा यार्लुङ झाङबो र भारतमा ब्रह्मपुत्र भनेर चिनिने नदी माथि बन्ने परियोजनाको घोषणा गरेको थियो । यसलाई बेइजिङको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक लक्ष्य सँग जोडिएको छ । 

तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ झाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 

प्रतिक्रिया