भारतको दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित
एजेन्सी । भारतको राजधानी दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित भएका छन् ।
भारतीय मौसम विज्ञान विभागले आज (शनिबार) पनि दिल्लीमा बाक्लो कुहिरोको चेतावनी जारी गरेको छ । बाक्लो कुहिरोले शुक्रबार दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै दुई सय उडान ढिलाइ तथा केही रेल सेवा प्रभावित भएको हो ।
दिल्ली इन्टरनेशनल एअरपोर्ट लिमिटेड (डी.आई.ए.एल.) ले मौसम खराबका कारण उडानहरू प्रभावित भएका जनाएको छ । त्यसअघि नै यात्रुहरूलाई अद्यावधिक उडान जानकारीको लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको थियो । कम भिजिबिलिटीका कारण स्पाइसजेट, इन्डिगो र एअर इन्डिया लगायतका एयरलाइन्सका उडान प्रभावित भएका हुन् ।
भारतीय रेलवेले कम्तीमा २४ वटा रेल बाक्लो कुहिरोका कारण ढिलाइ भएको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही रेल सेवा झण्डै पाँच घण्टा सम्म ढिलो भएका थिए । बाक्लो कुहिरो उत्तरपश्चिम तथा मध्य भारतका केही भागहरूमा रहने र आज बेलुका वा आएतबार बिहान पछि सुधार हुने सम्भावना रहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया