नयाँ वर्षमा भएको हिंसात्मक घटनालाई लिएर ट्रम्पले गरे बाइडेनको आलोचना

एजेन्सी । अमेरिकामा नयाँ वर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । 

हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताएका हुन् ।  उनले सामाजिक सञ्जाल ’एक्स’ मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबै भन्दा खराब राष्ट्रपति भएका आरोप लगाएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनको खुला सीमा नीतिको सन्दर्भमा आफूले यस अघि पनि विरोध गर्दै आएको उल्लेख गर्दै ट्रम्पले खुला सीमा नीति र कमजोर नेतृत्वकै कारण अमेरिकामा कट्टरपन्थी इस्लामिक आतङ्कवाद र हिंसात्मक अपराध भएको बताएका छन् ।  

नयाँ वर्षको रमाइलोका बेला लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले भीडमा ट्रक गुडाउँदा १५ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । यस्तै लस भेगासमा ट्रम्प इन्टरनेशनल होटल बाहिर साइबर ट्रक विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया