रा.स्व.पा.को केन्द्रीय समितिको बैठक आज देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)को दुई दिने केन्द्रीय समितिको बैठक आज (शनिबार) देखि काठमाडौंमा शुरू हुँदैछ । 
    
शनिबार र आइतबार बस्ने रा.स्व.पा.को केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारी सम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयक माथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

आजको बैठकमा रा.स्व.पा.का केन्द्रीय सदस्यहरू बीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरण लगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । 

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिका अनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्याप बारे छलफल गर्नेछ । रा.स्व.पा.को जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशा सँगै कार्यक्रम तालिका बारे यस बैठकमा छलफल हुने बताइएको छ ।
 
कार्यवाहक महा मन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ । 

रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछाने सहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागे पछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्याल छन् । 
रासस 

प्रतिक्रिया