पछिल्लो छ महिनामा साढे १५ सय फरार प्रतिवादी पक्राउ
काठमाडौंं । जिल्ला प्रहरी परिसर काठमाडौंले चालु आर्थिक वर्ष २०८१\८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौं प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौं प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ ।
विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार भएका व्यक्ति लुकीछिपी बसिरहेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि आह्वान गरेको छ ।
प्रतिक्रिया