भाषा, संस्कृति हाम्रा पहिचान हुन : मन्त्री गुरुङ
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा, संस्कृतिहरू हाम्रो पहिचान भएको बताएका छन् ।
नेपाल मगर सङ्घ गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले भाषा, संस्कृति जोगाउनुपर्ने भन्दै यी विषय हाम्रो इतिहास र पहिचानसँग प्रत्यक्ष जोडिएका उल्लेख गरे ।
आदिवासी, जनजातिहरूको संस्कृति जगेर्नासँगै उनीहरूका हकहितको संरक्षणलाई लक्षित गरी सरकारले विभिन्न आयोगहरू बनाएको जनाउँदै मन्त्री गुरुङले त्यसको व्यवहारिक उपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।
राज्यले आदिवासी, जनजातिका लागि आरक्षणको व्यवस्था गरे पनि त्यसको कति उपयोग गर्न सकियो त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउँदै उनले भने, “राज्यले आरक्ष्णको व्यवस्था गरेर मात्रै हुँदैन त्यसको व्यावहारिक उपयोग हुनुपर्दछ ।”
मगर जाति मौलिक संस्कृतिले धनी रहेको बताउँदै मन्त्री गुरुङले समुदायमा समन्वयको भावनासहित आफ्ना संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । संस्कृतिको जगेर्नासँगै समयसापेक्ष रूपमा यसको संरक्षण र प्रवद्र्धन गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया