नयाँ संविधान जारी भएको ८ वर्ष पूरा

संबिधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह गरेको हो । सो क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । त्यस्तै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । 
समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताए । अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको उनको भनाइ छ ।
सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उल्लेख गरे । उनले जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको पनि बताए । समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी भएनन । 

प्रतिक्रिया