देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा
करिव ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित
शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गरेको छ । उनीहरुले आज देशैभर विधेयकको विरोधमा प्रदर्शन पनि गर्दैछन । आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् । शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् । माग सम्बोधन नभएसम्म देशैभरका करिब १ लाख १० हजार शिक्षक राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुने नेपाल शिक्षक महासंघले जनाएको छ । आन्दोलनलाई सबै राजनीतिक दलको शिक्षक संघ–संगठनले पनि समर्थन गरेका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमा राख्ने व्यवस्था गरेकोमा उनीहरुको असहमति छ । नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बस्न आह्वान गरेपनि उनीहरुले अस्वीकार गरेका छन । शिक्षकहरुले प्रधानमन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतकसँग मात्रै वार्ता गर्ने बताएका छन् । आन्दोलनका कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प भएको छ भने करिब ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । महासंघले निजी विद्यालय पनि बन्द गर्न आह्वान गरेको छ । देशभर करिब ७ हजारको हाराहारीमा निजी विद्यालय रहेका छन् ।
प्रतिक्रिया