स्युचाटार क्रिकेट लिग: क्वार्टरफाइनल र सेमिफाइनल खेलहरू आज हुदै
काठमाडौ । स्युचाटार क्रिकेट लिग इन्डोर टी–टेन प्रतियोगिताको क्वार्टरफाइनल र सेमिफाइनल खेलहरू आज हुदैछ। पहिलो क्वार्टरफाइनलमा क्रिकेट एक्सिलेन्स सेन्टर र बिएमडिएस, दोस्रो क्वार्टरफाइनलमा चक्रवर्ती ल कलेज र टिम बिडिएसबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, तेस्रो क्वार्टरफाइनलमा किङ्स क्रिकेट एकेडेमी र मिक्समान्डु तथा चौथो क्वार्टरफाइनलमा स्टुडियो सेभेन र ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्ने छन्।
तारकेश्वर युवा क्लबद्वारा आयोजित प्रतियोगिताको लिगचरणका सम्पूर्ण खेलहरू बुधबार समाप्त भएका हुन्। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर र चक्रवर्ती ल कलेज, समूह ‘बी’ बाट किङ्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बिडिएस र बिएमडिएस तथा समूह ‘डी’ बाट समूह ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वार्टरफाइनल पुगेका हुन्।
स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न लिगचरणका अन्तिम खेलमा बिएमडिएस, हिमालयन क्रिकेट एकेडेमी र चक्रवर्ती ल कलेज विजयी भए। पहिलो खेलमा बिएमडिएसले हिमालयन क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गरेको थियो।
यस्तै, हिमालयन क्रिकेट एकेडेमीले कालिका वारियर्सलाई ६० रन, बिएमडिएसले कालिका वारियर्स तथा चक्रवर्ती ल कलेजले नवज्योति युथ क्लबलाई समान तीन विकेटले पराजित गरे।
योसंगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही पाँच हजार रूपैयाँ दिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ।
प्रतिक्रिया