लेखा समिति सभापतिका स्वकीय सचिवलाई हटाइयो पदबाट

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलमाथि ठगी आरोप लागेको छ ।

ठगी गरेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका छन् ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए ।

उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।

साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया