एम.सि.सी.ले थप ६ अर्ब ८० करोड प्रदान गर्ने
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सि.सी.) ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौ देखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एम.सि.सी. अन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एम.सि.सी. सञ्चालक समितिले जनाएको छ ।
“मिलेनियम च्यालेन्ज कर्पोरेसन सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू मार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एम.सि.सी. र नेपाल सरकार बीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एम.सि.सी.ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यो अतिरिक्त सहायता रकम बाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एम.सि.सी. कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
एम.सि.सी. परियोजना अन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुर सम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माण पछि नेपाल–भारत बीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।
रासस
प्रतिक्रिया