दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई गिरफ्तार गर्न अनुसन्धान टोली राष्ट्रपति निवासमा

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योललाई गिरफ्तार गरिने भएको छ । 

भ्रष्टाचार विरोधी अनुसन्धान निकाय ‘सीआईओ’का अनुसन्धानकर्ताहरूको टोली उनलाई पक्राउ गर्न राष्ट्रपति निवास पुगेको बताइएको छ । उच्चपदस्थ अधिकारीले गरेका भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय सीआईओका अधिकारीहरू प्रहरी र अभियोजकको टोली सहित राष्ट्रपति निवास पुगेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करिब ८० जनाको टोली सहित सीआईओका अधिकारीहरू राष्ट्रपति निवास भित्र प्रवेश गरेका हुन् । देशमा ‘मार्शल ल’ अर्थात् सैन्य कानून घोषणा गरेको विषयमा सोधपुछ गर्नका लागि गत मंगलबार अदातले यून विरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनी बयान दिन लगातार तीन पटक अनुपस्थित रहेका थिए । 

यूनको गिरफ्तारी प्रयासको विरोधका लागि यून समर्थक सयौं प्रदर्शनकारीहरू राष्ट्रपति निवास नजिकै भेला भएका छन् ।  यूनका वकिलहरूले पक्राउ पुर्जी विरुद्ध उच्च अदालतमा निषेधाज्ञाका लागि आवेदन दिएका छन् । पक्राउ पुर्जी जनवरी ६ अर्थात आगामी सोमबार सम्मका लागि मात्रै मान्य छ  ।  

पक्राउ गरेपछि अनुसन्धानकर्ताहरूले उनलाई ४८ घण्टा मात्रै आफ्नो नियन्त्रणमा राख्न पाउने छन् । अनुसन्धानकर्ताहरूले त्यसपछि पनि उनलाई हिरासतमा राख्न चाहे अदालतको अनुमति लिनुपर्ने छ अन्यथा मुक्त गर्नुपर्ने समाचारमा उल्लेख छ । 

यूनले डिसेम्बर ३ को मध्यरातमा घोषणा गरेको मार्शल ल ६ घण्टा मात्र टिकेको थियो । संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि यून निलम्बनमा छन् । यून विरुद्धको महाभियोग माथि संवैधानिक अदालतले आजै दोस्रो प्रारम्भिक सुनुवाइ गर्दै छ । 

संवैधानिक अदालतले यून विरुद्धको महाभियोग सदर गरेको अवस्थामा मात्रै यून पदमुक्त हुनेछन् अन्यथा उनको पद जोगिने छ ।
 

प्रतिक्रिया