विश्व बैंकको सहयोगमा तीन सडक एकसाथ स्तरोन्नति
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिका भित्र आधा अर्ब लागतमा तीन वटा सडक धमाधम स्तरोन्नति भएका छन् ।
स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबै भन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।
विश्व बैंकको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असार बाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । बागलुङ नगरपालिका–७ को मूलपानी बाट तितौरे सम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौर बाट ढोडेनी सम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखा स्थित गणेशथान घुम्ती बाट नीरयघाटको १ दशमलव ५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ ।
तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हाल सम्मकै नमूना हुनेगरी स्तरोन्नति सहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिका सहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ ।
निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधार तर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायी तर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिए । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्त भित्र कालोपत्र सक्नुपर्ने छ ।
“झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, छ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको चार महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,” इञ्जिनियर शर्माले भने, “उक्त सडक अहिले सम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।”
सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीकोे भनाइ छ । स्तरोन्नति सँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवा सँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वटै सडकको लम्बाइ जम्मा १३ किमी छ ।
विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिका बीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिका भित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रकम अनुदान मार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा ४९ करोड २२ लाख पुगेको थियो । नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्री हुनेछ । उक्त सडकहरू आठ मिटर चौडा हुनेछन् ।
रासस
प्रतिक्रिया