उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत

बाँके । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम शुरू भएको थियो । आयोजना शुरू भएको १९ वर्ष पछि आर्थिक वर्ष २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । 

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आर्थिक वर्ष  २०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उनले भने, “आर्थिक वर्ष २०६१–६२ मा  सात अर्ब ४५ करोड अनुमानित लागत बाट शुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।
 
आयोजना शुरू भए देखि चालु आर्थिक वर्षको मङ्सिर सम्ममा २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षका लागि एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हाल सम्म २३ करोड खर्च भएको छ ।

इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । 

पश्चिमी मूल नहर बाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहर बाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजना बाट १९ वर्ष बित्दा हाल सम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भने, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”

पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताए। उनका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हाल सम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आर्थिक वर्षमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।

तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहर बाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहर बाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहर भन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।

राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानूनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
रासस 

प्रतिक्रिया