शेखर कोइराला पक्षको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

बुधबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले आज तयारी बैठक बोलाएको छ । कोइरालाले बैठकको तयारीमा लागि आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक बोलाएका हुन् । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएपनि दुबै जना सहभागी नहुने भएका छन । । पछिल्लो समय संस्थापन इतरका नेता शेखरले सरकारको विकल्प खोज्नुपर्ने मतलाई निरन्तर उठाउँदै आएका छन् । सरकारले ठूला भ्रष्टाचारका काण्डलाई फितलो बनाएको, कांग्रेस नेतालाई निशाना बनाएको, प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । यसैले ठूलो दलको रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्दै उनले यो विषयलाई प्राथमिकतापूर्वक उठाउँदै पनि आएका छन् । केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने सम्भावना छ । नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरि मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले टोली बनाउने सम्भावना छ । विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ । नीति महाधिवेशन र महासमिति दुवै कार्य एकैपटक हुने गरी कांग्रेसले महासमिति बैठक आह्नवान गरेको छ । केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया