बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि

काठमाडौं ।  टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ ।लिगमा पुरुष र महिलामा समान पाँच–पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौलसमूहमा खेल हुने छ ।

त्यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुने छ ।करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौँराले जानकारी दिए । काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात र तीन अङ्क प्रदान गरिने छ ।प्रतियोगिताका खेलहरू टोखा नगरपालिका–५ को कार्यालयमा हुने छ ।

तीन तीन महिनाको अवधिमा सञ्चालन गर्नेगरी शुरुआत गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा आयोजना भएको थियो । 
 

प्रतिक्रिया