एभिन्यूजले देशको अर्थतन्त्र सुधारबारे सातै प्रदेशमा गरेको बहस कार्यक्रमको समापन
काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था र सुधारबारे सातै प्रदेशमा गरेको बहस र अन्तरक्रिया कार्यक्रमको आज समापन भएको छ ।
सातौं तथा अन्तिम दिनको कार्यक्रम आज गण्डकी प्रदेशको पोखरामा समापन भएसँगै सातै प्रदेशको टेलिभिजन बहस कार्यक्रम सम्मपन्न भएको हो ।
पौष ५ गते सुदूर पश्चिम प्रदेशको धनगढी बाट शुरु भएको कार्यक्रम पौष ७ गते कर्णाली प्रदेशमा भएको थियो । कर्णाली प्रदेशको कार्यक्रम भने बिशेष कारणले बाँकेको नेपालगञ्जमा भएको थियो । त्यसैगरी पौष ९ गते लुम्बिनी प्रदेशको कार्यक्रम भैरहवामा भएको थियो । यस्तै, बागमती प्रदेशको कार्यक्रम पौष ११ गते चितवनमा, मधेश प्रदेशको कार्यक्रम पौष १३ गते बीरगंजमा र कोशी प्रदेशको कार्यक्रम पौष १५ गते बिराटनगरमा भएको थियो ।
“अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाएको हो । एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया गरेको हो ।
आज होटल पोखरा भिलेजमा भएको अन्तिम दिनको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र अर्थविद् तथा विश्लेषक अरुण सुवेदी वक्ताको रुपमा रहेका थिए। उनीहरुले नेपालको अर्थतन्त्र सुधारबारे बिभिन्न व्यक्ति र संस्थाले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहको थियो । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा भने एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले गरेका थिए ।
सात वटै प्रदेशमा भएका बहसमा सहभागीहरुले सरकारी नीतिमा सुधार नगरे सम्म अर्थतन्त्र र व्यवसायी दुवै माथि उठ्न नसक्ने र सरकारी नीति झन्झटिलो भएको भन्दै सहज बनाउन माग गरेका छन् । त्यसमा उनीहरुले देशको अर्थतन्त्र सुधार र लयमा ल्याउन गर्नुपर्ने बिभिन्न उपाय बारे सरकारलाई एभिन्यूज मार्फत सुझाव पनि दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको उत्साहजनक सहभागिता रहेको एभिन्यूजले जनाएको छ । योे बहस तथा अन्तरक्रिया कार्यक्रम एभिन्यूज खबर टेलिभिजनका साथै एभिन्यूजको यूट्युव र फेसबुक पेज तथा एभिन्यूज डट टिभी र स्थानीय संचार माध्यममा प्रत्यक्ष प्रसारण भएको थियो ।
प्रतिक्रिया