सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसहित ४४ जना प्रतिवादी
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।
कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप–समिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी कास्की प्रहरीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया