राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा  प्रधानमन्त्री दाहालको सम्बोधन

पूर्व प्रतिवद्धता कार्यान्वयन अन्र्तराष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेक छन । प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका छन । उनले सम्बोधनका क्रममा कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटले अतिकम विकसित देशको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताएका छन । प्रधानमन्त्री दाहालले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औल्याए । उनले अतिकम विकसित देशले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने उल्लेख गरे । यसका लागि दोहा कार्ययोजना, जसप्रति  अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता रहेको थियो । उनले यसलाई स्वीकार गर्न आग्रह गरेका छन । दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले एसडीजी प्रोत्साहन प्याकेज मार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि आग्रह गरे ।  

प्रतिक्रिया