जबालियामा इजरायली हमलामा १५ जनाको मृत्यु
एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ बताएको छ ।
अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र यसको छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै ठूलो भूमि र हवाई आक्रमण गरिरहेको छ ।
सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ । यद्यपि उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन् ।
“जबालिया सहरमा विस्थापित मानिसहरू बसिरहेको घरमा मध्यरातपछि भएको यो नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने ।
सम्पर्क गर्दा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बतायो । बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताए । उनीहरूले त्यहाँ शरण लिएका थिए ।
गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भएका छन् । जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको आफ्नो पहिलो नाम बताउने उद्धारकर्ता मोहम्मदले जानकारी दिए ।
“उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो”, उनले भने । केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया