‘स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव’
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् । यहाँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को आज शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गरेका हुन् ।
स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको बताउँदै उनले भने, “लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।” विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उहाँले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताए ।
हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उनले बताए । बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उनले सुझाव दिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, पर्यटनविज्ञ हरिसिं गुरुङले बन्दीपुर भ्रमण वर्षले बन्दीपुरको मात्र नभइ समग्र तनहुँको पर्यटन प्रवद्र्धनमा सघाउने बताएका थिए ।
बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । गाउँपालिकाभित्रका सबै वडाका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उनी बताउँछन् ।
बन्दीपुरका ६ वटै वडाका पर्यटकीयस्थललाई पर्यटनको केन्द्र बनाउने सोच राखिएको उनको भनाइ छ । उनले भने, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरिनेछ ।”
भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्नसक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उनको भनाइ छ ।
बन्दीपुर भ्रमण वर्षको अवसरमा छ सिजन अनुसारको प्याकेज बनाइ प्रवद्र्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकूल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए तापनि बसाइँ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया