उच्च शिक्षालाई अनुसन्धान मूलक बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताएकी हुन् ।
शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताइन् । उनले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन् ।
“सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ । अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ”, उनी भन्छिन्, “सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनःसंरचना गर्नेछौँ ।”
नवप्रवद्र्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवद्र्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिइन् । मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताइन् ।
समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन् । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताइन् । समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया