झलनाथ खनालले भने– बी.आर.आई सम्झौता देशको हितमा भयो, भारतको किन चित्त दुख्यो ?

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले देशको हितलाई मध्यनजर गर्दै बीआरआई कार्यान्वयन सम्बन्धी सम्झौता भएको बताएका छन् ।

बुधवार नेपालमा बीआरआईको कार्यान्वयनका सम्भावना विषयमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोशलिज्मले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले भने, ‘बीआरआई कार्यान्वयनमा सम्झौता भएपछि भारतीय मिडियालाई अध्ययन गर्दा त्यसबाट भारत निकै आत्तिएको देखिन्छ, त्यसरी आत्तिनुको कुनै कारण नरहेको छैन् । बीआरआईमा भारतको किन चित्त बुझेको छैन त्यो कुरा मैले बुझ्न सकेको छैन । विश्वका दुई तिहाइ भन्दा बढी देशले बीआरआई स्वीकार गरिसकेका छन् तर नेपालमा यसलाई अनावश्यक विवादमा ल्याएर रोक्ने प्रयास भइरहेको छ ।’

नेपाल सगरमाथाको देश भएको र जस्तोसुकै हुरी बतास आएपनि केही नहुने टिप्पणी गर्दै उनले भारतले अझै पनि नेपालमाथि सफ्ट ब्लकेड लगाइरहेको दाबी गरे । चीनको लगानीमा बनेको भैरहवा र पोखरा एयरपोर्टमा जहाज उड्न नदिनु ब्लकेड रहेको दाबी गर्दै उनले नेपालमा भारतले चार पटक नाकाबन्दी गरिसकेको बताए ।  उनले अहिले पनि हल्का खालको नाकाबन्दी जारी रहेको दाबी गरे ।

नेता खनालले चीनसँग सदियौँदेखि राम्रो सम्बन्ध रहेको र अहिले पनि उच्च खालको सम्बन्ध रहेको दाबी गरे । उनले भने, ‘सबै देशसँग एक खालको सम्बन्ध हुँदैन कसैसँग विशिष्ट सम्बन्ध हुन्छ भने कसैसँग सामान्य सम्बन्ध हुन्छ । चीनसँग नेपालको विशिष्ट सम्बन्ध रहेकाले बीआरआई जस्तो प्रोजेक्ट स्वीकार गरेको हो ।

प्रतिक्रिया