सहकारी ठगी प्रकरण : कसको सकियो थुनछेक बहस, कसले गर्दैछन् भोली ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको दोस्रो दिनको थुनछेक बहस सकिएको छ । सूर्यदर्शन सहकारीको बचत अपचलनको मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो ।
सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ ।
भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने र जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया