रुस र युक्रेन बीच युद्धबन्दी साटासाट

एजेन्सी । रुस र युक्रेनले सयौं युद्धबन्दी साटासाट गरेका छन् । 

संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको सम्झौता अनुसार रुस र युक्रेनले युद्धबन्दी साटासाट गरेका हुन् । दुवै मुलुबीच युद्ध शुुरु भएयता ५९औँ पटक युद्धबन्दी साटासाट भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले १ सय ५० युक्रेनी सैनिकको बदलामा बराबर संख्यामा रुसी सैनिक सुपुर्दगी गरेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले १ सय ८९ युक्रेनी स्वदेश फर्किएको बताएका छन ।  जसमा दर्जनौं सैनिक, सीमा गार्ड र मारियोपोलका दुई नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकलाई बेलारुस तर्फ लगिएको जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ भने आफ्ना परिवार सँग सम्पर्कको मौका दिइएको बताएको छ । बन्दी साटासाट पछि मस्कोले अहिले सम्म ३ हजार ९ सय ५६ युक्रेनीलाई रिहा गरेको किभले जनाएको छ । जसमा धेरै सैनिक र सर्वसाधारण छन् । 

युक्रेनले रुस द्वारा कब्जामा लिएका सैनिकको संख्या अहिले सम्म खुलाएको छैन । तर ८ हजार भन्दा बढी युक्रेनी नागरिक रूसी कैदमा रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया