बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित

महोत्तरी । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थाले पछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिन देखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताए । 

शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्‍याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वर सहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । 

जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढे पछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताए । 

चिसोकै कारण स्वास्थ्य केन्द्र लगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा. रवीन्द्र साहले जानकारी दिए ।

उनले भने, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडो बाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् । 

जलेश्वर –११ का किसान उमेश मण्डले चिसो बाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गरे । उनले मसुरो, खेसारी, आलस, रहर लगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटर लगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसो बाट प्रभावित भएको बताए । 
रासस 

प्रतिक्रिया