हिमाली भेगमा आज तोल ल्होसार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ ।
 
तोल ल्होसारलाई सबै भन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधि अनुसार यो पर्व मनाइन्छ । 

सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ । तामाङ जातिले भने आजको एक महिना पछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।
  
हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छे बाट पूजापाठ गरिन्छ । आकाश तर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । 

ठूला, बडा एवं मान्यजन बाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।
रासस 

प्रतिक्रिया