कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी : उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताएकी छिन् ।
नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उनले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताएकी हुन् ।
काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भनिन्, “नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ ।” उनले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गरिन् ।
उपसभामुख राना भन्छिन्, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, यस्तो अरु देशमा देखेकै छैन ।” यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा टेवा पुग्ने र ती कलाहरु बालबालिकाका लागि सिकाइ हुने उनी बताउँछिन् ।
प्रतिक्रिया