‘सुदूरपश्चिमको विकासका लागि साझा सङ्कल्प र प्रयास आवश्यक’
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा सङ्कल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् ।
यहाँको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरू भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताहरूले सङ्घीयताको मर्म अनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताए । यसैकारण आवश्यकता अनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरूलाई थापाले आग्रह गरे । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तहसँग रहे पनि स्रोत साधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताए ।
कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा. केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताएका थिए ।
आयोजक नगरपालिकाका प्रमुख भरत बचायर जोशीले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज आवश्यक रहेको बताए । सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।
रासस
प्रतिक्रिया