गौरीगाउँ सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँको गैरीगाउँमा शनिबार बिहान चार जनाको सामूहिक हत्या गरिएको घटनामा थप एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनी घटनास्थलबाट भक्तपुर जान लागेको दृश्य सडकको सीसीटीभीमा देखिएको थियो । हिजो बिहान घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राई पक्राउ परेका थिए । आज अर्को दोस्रो व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । हिजोको व्यक्ति घटनामा संलग्न नभएको हुनसक्ने र सूचना दिन मात्र गएको हुनसक्ने बताइएको छ । गैरीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यस्तै मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको पनि हत्या भएको छ ।

प्रतिक्रिया