गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाइन् । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन ।

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताइन् । ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा पाहानले उक्त प्रमाणपत्र पाइन् । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भनिन् । नगरपालिकाले शिविरमै उनी र उनका परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताइन् ।

स्वास्थ्य शिविरमा भेटिएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिए । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उनले हर्षित हुँदै भने । 

वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी भएका छन् । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगर लगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।

तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताए । बराइलीले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरी लगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताए । 

   

चिकित्सक सहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउँछन् । 

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । 

मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउँछन् । खरेलले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताए ।

“नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उनले भने, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”
रासस
 

प्रतिक्रिया