पश्चिम नेपालका थारू समुदायमा आट्वारी पर्वको रौनक

पश्चिम नेपालका थारू समुदायले आज आट्वारी पर्व मनाइरहेका छन् । शनिबार राति दर खाएर दिनभर व्रत बसेका उनीहरुले साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाना खाने गर्दछन् । अट्वारीका दिन बिहान भात–तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन छ । रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि छुट्याइ बनाइएका परिकार ‘अग्रासन’ खाँदै यो पर्व मनाउने परम्परा रहेको छ । व्रत बसेको पहिलो दिन पनि अग्नि देवतालाई चढाइसकेपछि खाना खाइन्छ । पहिलो दिन फलफूल र रोटी मात्र खाने र बिहान दिदीबहिनीलाई भात तरकारीको परिकार दिन जाने गरिन्छ ।आफ्ना दिदीबहिनीका घरमा पुगेर अग्रासन दिइसकेपछि अटवारी पर्व सकिन्छ । यसबाट दाजुभाइ तथा दिदीबहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ । 
अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाका लागि निर्जल र निराहर ब्रत बस्ने परम्परा छ । यो पर्व थारु समुदायको दसैं पछिको दोस्रो ठूलो चाड मानिन्छ ।  अट्वारी पर्व तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायहरुले प्रायः मनाउँछन् । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । 
 

प्रतिक्रिया