कोरियाली विमान दुर्घटनामा १७७ जनाको मृत्यु,राष्ट्रिय शोकको घोषणा
एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा १७७ जनाको मृत्यु भएको छ ।
दुई जना बाँचेकालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको थियो । जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० मा चालक दलका ६ जना सदस्य गरी १८१ जना सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे दुर्घटना भएको थियो ।
चालक दलका बाहेक विमानमा १७३ जना दक्षिण कोरियाली नागरिक र २ जना थाइल्याण्का नागरिक रहेका थिए । भग्नावशेषबाट निकालेर जीवितै अस्पताल लगिएकामा उनीहरु चालकहलका सदस्य रहेका बताइएको छ । अन्य सबैको मृत्यु भएको छ । यसबीच सो विमानको “व्ल्याक बक्स” पनि भेटिएको छ ।
कोरियाली अधिकारीहरूले भग्नावशेषको खोजी जारी राख्दा मृतकका परिवारहरू विमानस्थलमा भेला भएका छन् । अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिएको छ । यसैबीच दक्षिण कोरियाली सरकारले आगामी सात दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रतिक्रिया