झारपातले कुरूप बन्दै राराताल
मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ ।
तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पु¥याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।
तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पु¥याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए ।
रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गरेको भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल बिरूप देखिन थालेको बताए ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश नौपानेले रारातालको पश्चिमतर्फ, निजार लगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए ।
राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
रासस
प्रतिक्रिया