सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित स्रोत र साधनका बाबजुद पनि दूरदराजसम्म विकास निर्माणलाई गति दिएको बताएका छन् । 

तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा मोटरेबल पुल उद्घाटन गर्दै उनले प्रदेश सरकारले विकास नभएका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले दूरदराजमा पनि विकास  सम्भव भएको बताएका हुन् । आज उद्घाटन गरिएको उक्त पुल विसं २०७७ मा निर्माण शुरु भइ गत महिना सम्पन्न भएको थियो । 

मुख्यमन्त्री पाण्डेले विकासको मुख्य आधार सडक पहुँच रहेकाले विकट क्षेत्रका बस्तीसम्म सडकको पहुँच पुर्‍याउने काम भइरहेको उल्लेख गरे । भन्छन्, “सबै तिर एकैपटक विकास गर्न सम्भव हुँदैन, क्रमिक रुपमा विकास हुँदै जाने हो, पछिल्लो एक दशकमा धेरै विकास भएको छ, सडकले नागरिकको जनजीवनमा परिवर्तन ल्याएको छ ।”

बोङ्गादोभानमा पुल बनेपछि साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको छ । २ करोड ७१ लाख २७ हजार नौ सय ६४ मा लागतमा पुल निर्माण भएपछि पुल तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि नर्जाखानी, तमान, स्याउला, खुङ्खानी, थास्पुरी लगाएका गाउँमा पुग्न सहज भएको छ ।

प्रतिक्रिया