बौद्ध धर्माबलम्बी नेवार समुदायले मनाउने गुउँला पर्व सम्पन्न
काठमाडौ । बौद्ध धर्माबलम्बी नेवार समुदायले एक महिनासम्म मनाउने गुँउला पर्व सम्पन्न भएको छ । पर्वको अन्तिम दिन विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भुसहितका बौद्ध चैत्यहरूको परिक्रमा गरिएको छ । परापूर्वकालदेखि शाक्य, बज्राचार्य, मानन्धरलगायतका नेवार समुदायले मनाउने गुउँला पर्व गत साउन ३१ गतेबाट शुरु भएको थियो । यो पर्व गुँलाथ्व पारु (साउन शुक्ल परेवादेखि यँलाथ्व पारु (भाद्र शुक्ल परेवा) सम्म एक महिनासम्म भगवान बुद्धको विशेष पूजाआजा गरी मनाउने गरिन्छ ।
यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गर्ने गरिन्छ । साथै एक महीनासम्म व्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ । दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ ।
अन्तिम दिन गुउँला पर्वमा बजाइने बाजा एउटा गुठीले अर्को बर्ष पर्व मनाउनका लागि अर्को गुठीलाई हस्तान्तरण गर्ने गरिन्छ । गुँउला पर्वमा विशेषगरी न्याकुँ, बाजा, धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या लगायतका बाजा बजाएर चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि अहिले अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्वका रुपमा यसलाई लिइन्छ । गुँला पर्व काठमाडौँ, भक्तपुर र ललितपुरमा मनाउने परम्परा छ ।
प्रतिक्रिया