कांग्रेसको प्रस्ताव–वर्षमानको खुलासा : एमालेलाई बोक्न सकिन्न, माओवादी र कांग्रेस मिलौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कांग्रेसका नेताहरुले वर्तमान सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव राखेको खुलासा गरेका छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पको लागि प्रस्ताव राखेको बताएका हुन् । साथै, उपमहासचिव पुनले एमालेका नेताहरु पनि कम्युनिष्टहरू मिल्ने प्रस्ताव लिएर आउने गरेको सुनाए ।

‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिष्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ,’ उनले भने, ‘उहाँहरू विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । तर, हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं ।’

सडक र सदनबाट जनताका मुद्दा उठाउने बताउँदै उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पनि दाबी गरे । श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनी बताउँछन् ।

प्रतिक्रिया