‘फोरजी’ सेवालाई घर-घरमा पुर्याउनुपर्छ : मन्त्री गुरुङ
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गुनासो नआउने तवरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताएका हुन् ।
सबैको एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उनी बताउँछन् । राजमार्ग क्षेत्रमा दूरसञ्चार सेवाका सम्बन्धमा गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले पृथ्वी राजमार्गसहित अन्य राजमार्गमा स्तरीय सेवा दिनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
‘सेटलाइट’का माध्यमबाट ‘फोरजी’ सेवालाई घरघरमा पुुर्याउनुुपर्ने उनले बताए । सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले पब्लिक सर्भिस बोर्ड (पिएसबी) मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक ठाउँमा ल्याएको जिकिर गर्दै उनले प्रिन्ट मिडियालाई पनि एक ठाउँमा ल्याउन पिएसपी ल्याउने योजना रहेको जानकारी दिए ।
पछिल्लो समयमा ‘अनलाइन मिडिया’मा अराजकता देखिएको उल्लेख गर्दै मन्त्री गुुरुङले प्रेस स्वतन्त्रता एवम् जनताका हक अधिकारलाई कुण्ठित नगर्ने गरी अनलाइन मिडियालाई व्यवस्थित गरिने उनको भनाइ छ । साइबर अपराध बढ्दो अवस्थामा रहेका कारण यसको नियन्त्रणका लागि सरकारले साइबर सेक्युुरिटी ऐन ल्याउने तयारी गरेको उनी भन्छन् ।
प्रतिक्रिया