दुर्गा प्रसाईं रिहा विरुद्ध पुनरावलोकन गर्दै सरकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ ।

आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका प्रसाईंलाई बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दर्ता गर्न लागेको हो ।

साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेपछि प्रहरीले मेडिकल व्यवसायी प्रसाईंलाई फेरी म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको ‘कनेक्सन’ देखिएको थियो । फुयाँलले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।

प्रतिक्रिया