भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

एजेन्सी । सन् १९९० को दशकको शुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकार मध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन पछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । 

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँ दिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । 

“दिवङ्गत महानुभाव प्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।

“स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

अस्ट्रेलिया सँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंह प्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।

सरल टेक्नोक्र्याट 

पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट थिए । उनलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर, उनको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।

दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो ।

सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मिएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरे ।  राष्ट्रको सर्वोच्च पद लिनु अघि उनी कहिल्यै निर्वाचित पदमा बसेका थिएनन् । 

उनले केम्ब्रिज बाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्ड बाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका थिए । सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गरे, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गरे र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाले । 

सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी.भी. नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबै भन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिएका थिए । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे। यसले देशलाई लामो समय देखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।

उनले अमेरिका सँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । उनले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताएका थिए । 
रासस 

प्रतिक्रिया